अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि किसान निरास


प्रकाशित मिति : October 23, 2017

फुङलिङ (ताप्लेजुङ) : सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेचेका छैनन् । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न छन्। बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि स्थानीय कृषकमा निराशा छाएको छ । आँगनमा अलैँची सुकाउँदै गरेका दाहालले मूल्य स्थिर नभइदिँदा र बजार उपलब्ध नहुँदा समस्या आएको बताए । अलैँचीको मूल्य निरन्तर घटेकाले उनलाई पुख्र्यौली पेशाबाटै विमुख बन्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

 

 

आफ्नै अलैँची भट्टीमा भेटिएका अर्का कृषक हर्क गुरुङ पनि बजार भाउ घटेको र मजदुरको लागत बढेकाले निरास हुनुहुँदो रहेछ । “अलैँचीमा ठूलो लगानी गरेको छु, केही वर्षदेखि निरन्तर मूल्य घटेकाले निरास बनाएको छ, राज्यको तर्फबाट अलैँचीको मूल्य निर्धारण र बजार व्यवस्थापन भइदिए राहत मिल्ने थियो,” उनले भने ।

जिल्लाको प्रमुख नगदेबाली अलैँचीको निरन्तर मूल्य घटेका कारण कृषक निरास बनेका हुन् । दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा बिक्री भएको अलैँची अहिले घटेर २४ देखि २६ हजार रुपैयाँको हाराहारीमा पुगेको छ । अलैँची व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष तेज भट्टराईले विगत १५ वर्षदेखि अलैँचीखेती गर्दै आएका छन् । शुरुमा ५० मनसम्म अलैँची उत्पादन गरेको अनुभव सुनाउने उनी अहिले परल मोल नै नपाउँदा चिन्तित छन्।

बालीमा रोग लाग्ने र वरपरका पुराना र अग्ला रुखका कारण अलैँचीको उत्पादन पनि घट्न पुगेको हो । “मूल्य घटेर किसानमा निरास बढेको छ, खर्च नधानिने भयो, मूल्य घटे पनि मजदुरको लागत भने बढिरहेको छ,”– व्यवसायी भट्टराईले भने।

ताप्लेजुङमा न्यूनतम चारदेखि बढीमा ६० मनसम्म अलैँची उत्पादन गर्ने किसान छन् । अलैँची व्यवसायी संघका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी कृषक अलैँचीखेतीमा आबद्ध छन् । जिल्लामा गोलसाइ, डम्बरसाइ, चिबेसाइ, भर्लाङे जातका अलैँची उत्पादन हुन्छ । ताप्लेजुङको ओलाङचुङगोलाको एक गाउँबाहेक सबै क्षेत्रमा अलैँची उत्पादन हुन्छ ।

ताप्लेजुङका वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरे पनि अलैँचीको गिर्दो मूल्य र बजारको अभावमा किसान निरास हुन पुगेको बताउनुहुन्छ । किसानको उत्साह मर्न नदिन प्रतिमन अलैँचीको कम्तीमा पनि रु ५० हजार मूल्य कायम गरिनुपर्ने र कृषकले पनि खेती व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

घिमिरेका अनुसार जिल्लाको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । अघिल्लो वर्ष दुई हजार ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । किसानलाई अलैँचीको गानो कुहिने, फूल सुक्ने समस्या चुनौती बनेको छ । जिल्लाको अलैँची बिर्तामोड, भारत हुँदै खाडीमुलुकमा निर्यात हुने गरेको छ । अलैँची जडीबुटी भएकाले आयुर्वेद औषधिका लागि स्वदेश तथा विदेशमा पनि राम्रै माग छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले नेपालसहित आठ वटा देशमा व्यावसायिक कृषि उत्पादन प्रवद्र्धन तथा पर्यावरण व्यवस्थापनमा सहयोग गर्दै आएको छ । ताप्लेजुङ, पाँचथरलगायत जिल्लामा अलैँची उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न आर्थिक अनुदान दिइएको कार्यक्रम संयोजक सुरेन्द्रराज जोशीले जानकारी दिए। ताप्लेजुङमा अलैँचीखेतीमा कृषकलाई आकर्षण गर्न इसिमोडले वातावरण संरक्षण तथा विकास मञ्चअन्तर्गतको हिमालिका कार्यक्रमलाई आर्थिक सहयोग गर्दैआएको छ ।

अलैँची उत्पादन गर्ने १२ वटा कृषक समूहका २८८ घरधुरीलाई विगत तीन वर्षदेखि यो सहयोग गर्दै आएको संस्थाले जनाएको छ । नेपालको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीको व्यावसायिक उत्पादन र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न सकिए देशको अर्थतन्त्रमा टेवा पुग्ने सरोकार भएका निकाय बताउँछन् । इलामलाई चिया पर्यटनको माध्यमबाट चिनाइए झैं ताप्लेजुङमा अलैँचीखेतीबाट पर्यटक आकर्षण गर्न सकिए किसानलाई लाभ पुग्नेछ ।

क्षेत्रीय कृषि निर्देशनालय पूर्वाञ्चलका निर्देशक हस्तबहादुर विष्टका अनुसार अलैँचीखेती हाल ४० जिल्लामा विस्तार भएको छ । पन्ध्र हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा खेती हुने अलैँची प्रतिवर्ष पाँच हजार ६०० मेट्रिक टन उत्पादन हुन्छ । वार्षिक २० करोड मूल्य बराबरको अलैँची निर्यात हुने गरेको छ ।

सन् १९५४ देखि नेपालमा व्यावसायिक अलैँचीखेती शुरु भएको पाइन्छ । सन् १८६५ मा छिमेकी भारतको सिक्किममा काम गर्न गएका मजदुरले अलैँचीखेती भित्र्याएका थिए । अलैँचीखेती इलामबाट शुरु भएको थियो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव प्रेमनारायण कँडेलले ताप्लेजुङको मुख्य आयआर्जन अलैँचीखेतीको उत्पादन र बजारीकरणमा मन्त्रालयले आवश्यक पहल गर्ने बताए । फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले अलैँचीको व्यावसायिक उत्पादन र बजारीकणका लागि योजनाबद्ध कार्यक्रम ल्याइने बताए ।

आधुनिक भट्टीको आकर्षण
ताप्लेजुङमा अलैँची सुकाउने आधुनिक भट्टीतर्फ कृषकको आकषण बढेको छ । अहिले ताप्लेजुङमा ३० भन्दा बढी भट्टी छन् । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम पाख्रीबासका पूर्व संयोजक डा गोविन्द्रप्रसाद तिमल्सिनाका अनुसार दाउरा कम लाग्ने र तीन घण्टामा २०० किलो अलैँची सुकाउन सकिने भएकाले कृषक आधुनिक भट्टीतर्फ आकर्षित भएका हुन् । पहिला यो कामका लागि दाउरा र समय धेरै खर्चनुपथ्र्यो ।

विसं २०७१ देखि आधुनिक भट्टी निर्माण गर्न थालिएको तिमल्सिनाले बताए । परम्परागत शैलीबाट अलैँची सुकाउँदा दाउरा धेरै लाग्ने र धुँवा बढी आउने हुन्थ्यो ।

रासस

प्रतिक्रिया दिनुहोस्