मधेश प्रदेशमा छैटौं पटक सरकार विस्तार : यादव क्याविनेट १४ सदस्यीय

सुरिता साह अझै बिना विभागीय


१५ श्रावण २०८०, सोमबार
madhesh mantriparisad1690808292 scaled

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार छैठौँ पटक सरकार विस्तार गरेका छन् । आज प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउँदै सरकार विस्तार गरेका हुन् ।

आज सप्तरीबाट निर्वाचित कांग्रेस सांसद मोहमद समीम गृह, सञ्चार तथा कानुन र जनमतका समानुपातिक तर्फका सांसद चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त भएका हुन् । उनीहरूले आजै शपथ लिए । योसँगै मधेश प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर, अझै एक मन्त्रीलाई जिम्मेवारी भने तोकिएको छैन । तत्कालीन समाजिक विकासमन्त्री सुरिता साह बिना विभागीय मन्त्री छिन् ।

सोमबार जनमतको तर्फबाट सरकारमा सहभागी बिनाविभागीय मन्त्रीहरू बसन्त कुश्वाहा र राज्यमन्त्री संजय यादवले राजीनामा दिएका थिए । मन्त्री कुश्वाहा र राज्यमन्त्री यादवलाई सुरुमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर, प्रदेशमा सत्ता समीकरण फेरिएपछि उनीहरूलाई बिना विभागीय मन्त्री बनाइएको थियो ।

स्रोतका अनुसार बिनाविभागीय मन्त्री सुरिता साहलाई केही मन्त्रालय टुक्र्याएर अर्को जिम्मेवारी दिने तयारीमा मुख्यमन्त्री यादव रहेको स्रोत बताउँछ । सुरुमा साहलाई श्रम तथा यातायात मन्त्रालय दिने मुख्यमन्त्री यादवको तयारी थियो । तर, जनमतले सहमतिअनुसार दुई मन्त्रालय आफूहरूले पाउनुपर्ने अडान लिएपछि श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सिंहलाई तोकिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७