माओवादीले भदौंदेखि तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने

पार्टी सदस्य साढे सात लाख रहेको दाबी


१७ श्रावण २०८०, बुधबार
PRO Ktm 066A7725 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी भदौदेखि तीन महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । आज (बुधबार) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराए ।

त्यस्तै अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ ।

यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डले बताएका छन् । उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि योजना सुनाए ।
पार्टी सदस्य साढे सात लाख रहेको दाबी
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् । उनका अनुसार माओवादीले सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् ।

बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ । त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७