जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक


२० श्रावण २०८०, शनिबार
IMG 20230803 WA00032023 08 03 04 53 15

काठमाडौं । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हाँस्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औं गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् ।

हाँस्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गरेका छन् । ‘मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ । यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो । मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु’, हाँस्य कलाकार रिजालले भने । पहिले क्यासेटमा आउने सामग्री भिसिडी हुँदै अहिले युट्युबमा आउने गरेको छ ।

विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उनले जानकारी दिए । उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् ।

प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायतले अभिनय गरेका छन् । हाँस्य कलाकार रिजालले गाईजात्राको कोसेलीमार्फत व्यङ्ग्य गरेर चेतना बढाउने काम गरिएको बताए । उनले भने, ‘जनताको मत पाएका प्रतिनिधि र कर्मचारीले गरिरहनु भएको गलत कार्यलाई व्यङ्ग्य गरेको छु । यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो । साथै, मनोरञ्जन यसमा भरपुर छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७