माओवादी केन्द्रको बैठक आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिंदै


२१ श्रावण २०८०, आईतवार
PRO KTM 066A9907 scaled

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति वैठक आज (आइतबार) सकिने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै केन्द्रीय सदस्य र पदाधिकारीको आज (आइतबार) एकमुष्ट जवाफ दिने भएका छन् । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा चार दिनसम्म २२१ जना नेताले आफ्ना धारणा राखेका छन् ।

आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले आइतबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने जानकारी दिएका छन् । पार्टी अध्यक्ष प्रचण्ड आफैले चार दिनसम्म नेताहरूले राखेको धारणा एक–एक गरी कापीमा टिपोट गरेका छन् । धैर्यसाथ सुन्दै उनले सबैको महत्वपूर्ण सुझाव, आलोचना र टिप्पणी संकलन गरेका छन् । केन्द्रीय सदस्यहरूले राखेका धारणा प्रधानमन्त्रीको सचिवालयले समेत संकलन गरेको छ । पार्टीका उपमहासचिव वर्षमान पुनले केन्द्रीय सदस्यहरूले राखेको धारणालाई राजनीतिक दस्तावेजमा समेटिने बताएका छन् ।

‘सदस्यहरूले बोलेका विषयलाई राजनीतिक प्रतिवेदनमा संशोधन गरेर समेटिने छ’, उनले भने, ‘यो प्रतिवेदनसाथ तीन महिने राजनीतिक अभियान लिएर जनतामा जाने छौँ । त्यसपछिको अभियान सकिएलगत्तै विधान सम्मेलन गरेर पार्टीलाई विधान र विधिमा चलाउने छौं ।’

उनले पार्टी र नेता विधान अनुसार सञ्चालन हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जति पनि प्रश्न उठेका छन्, त्यसको सकारात्मक रूपमा लिएको बताए । उनले भने, ‘बैठकमा उठेका प्रश्नको अध्यक्षसहित हामी सबैले सकारात्मक रूपमा लिएका छौं । यसलाई पार्टी रूपान्तरणका अवसरका रूपमा लिएका छौं । यसलाई सकारात्मक ऊर्जाका रूपमा लिएर जनतामा जाने राम्रो वातावरण बनाउने छौं ।’ बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७