गगनको निर्वाचन क्षेत्र कपनमा बालेनको डोजर, स्थानीय आन्दोलित


२५ श्रावण २०८०, बिहीबार
balen dojar

काठमाडौं । काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित काठमाडौं महानगरपालिकाको प्रहरीको टोली कपन साततले पुगेको छ ।

बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । खोलामाथिको स्ल्याब हटाउन डोजरसहित महानगरको नगर प्रहरीको टोली पुगेको हो । स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरीविरुद्ध स्थानीय आन्दोलित भएका छन् । स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयरबीच वार्ता भइरहेको नगर प्रहरी निरीक्षक शिव ढकालले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकास्सी साततलेमा डोजर लगेपछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका थिए । घटनास्थलमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका थिए ।

डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुढानिलकण्ठका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछार समेत गरेका थिए । त्यसपछि नेपाल प्रहरीको टोलीले डोजरको चाबी खोसेर काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष बिमल होडा र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको छ । बुढानिलकण्ठका प्रवक्ता भट्टराईले समन्वय गरौं भनेर आग्रह गर्दा आफूहरुमाथि हातपात गरिएको बताए । यो नेपाली कांग्रेसका गगन थापाको निर्वाचन क्षेत्र हो । केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोला खुला गरेको थियो । गत वर्ष कपन खोलाको ढलमा खसेर एक बालकले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७