एनआईसी एशिया बैंकले ल्यायो तीन कर्जा योजना


२६ श्रावण २०८०, शुक्रबार
NIC ASIA Bank

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले तीन कर्जा योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकका लागि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिए ।

२५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा न्यूनतम ब्याजदरमा ग्राहकहरुले उपभोग गर्न सक्ने विश्वास बैंकको रहेको पाण्डले विज्ञप्ति मार्फत जनाएका छन् । यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७