इन्द्रावतीमा पानीको बहाव बढ्यो, लेदो मिसिएर आएपछि राजमार्ग अवरुद्ध


२९ श्रावण २०८०, सोमबार
Melamchi badhi
फाइल फोटो

सिन्धुपाल्चोक । शनिबारदेखि लगातार परिरहेको वर्षाका कारण इन्द्रावती नदीमा बहाव बढेसँगै मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी पहिरोका कारण मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडकमार्ग अवरुद्ध भएको हो । यसका साथै मेलम्चीबाट पाँचपोखरी थाङपाल गाउँपालीका जाने सडक पनि पाँचपोखरी थाङपाल–८ खाल्डे खोलामा बन्द भएको छ ।

मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध हुँदा मेलम्चीबाट ग्याल्थुम बिएड दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी बाटोमा अलपत्र परेका थिए । अवरुद्ध सडकलाई पानी कम भए लगत्तै सञ्चालन गरिने बताउँदै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बाढीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरे ।

मेलम्ची नदीको मुहान देखिनै आएको बाढीमा २०७८ सालको जस्तो लेदो मिसिएर आएको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध गरे ।

यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्दै आवातजावतका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७