प्रधानमन्त्रीले माफी नमागे र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्छु : सांसद शर्मा


२९ श्रावण २०८०, सोमबार
sunil sharma1690364326
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नु हुन्न र प्रधानमन्त्रीले ‘अपोलोजी’ गर्नु हुन्न भने आमरण अनसन डिक्लियर गर्छु’ उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भने ।
शर्माले नक्कली सर्टिफिकेट प्रकरणमा आफूलाई प्रहरीले पक्राउ गरी लगेको विषयमा प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् । शर्माले भने, ‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्नु भएको छ कि डेमोक्रेटिकको नेतृत्व गरिराख्नु भएको छ ?’

शर्माले आतंककारीको नेतृत्व गरेको भनेर प्रधानमन्त्री र गृहमन्त्रीमाथि आरोप लगाएसँगै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे नियमापत्ति भन्दै उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले तत्कालै पाण्डेलाई बोल्न नदिएपछि माओवादीका अन्य सांसदहरूले पनि उठेर विरोध जनाएका थिए ।

पछि सभामुख घिमिरेले एक जना सांसदले नियमापत्तिबारे जानकारी गराउनू भनि निर्देशन दिएपछि पाण्डेले बोलेका थिए । ‘सभामुख ज्यू आतंककारी भनिएको छ । संविधानअनुसार सदन चलिरहेको छ,’ पाण्डेले भने, ‘यतिखेर प्रधानमन्त्रीलाई आतंककारी भन्ने कुरा कसरी सम्भव भएको छ । यो रेकर्डबाट हटाइनु पर्छ राख्न पाइँदैन ।’ पाण्डेले नियमापत्ति जनाएसँगै सभामुखले उनलाई नियमापत्ति नभई प्रतिवाद गरेको जवाफ दिए र बस्न अनुरोध गरे । ‘माननीय हितरात पाण्डे यहाँको भनाइबाट ध्यानाकर्षण भयो नियमापत्ति हैन बोलेको कुरामा प्रतिवाद देखियो बस्नुस्’ सभामुखले पाण्डेलाई भने ।

प्रधानमन्त्रीले आतंककारीको नेतृत्व गरिरहेको आरोप लगाउने शर्माको पार्टी र आपत्ति जनाउने पाण्डेको पार्टीकै नेतृत्वमा अहिले गठबन्धनको सरकार छ । यी दुवै सत्तारुढ दलका सांसद हुन् । कांग्रेस सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन २५ गते उनकै निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो ।

उनलाई नक्कली कागजात तथा विवरण पेस गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । साउन २६ गते प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न शर्मालाई अदालत उपस्थित गराएको थियो । तर अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि शर्मा हिरासत मुक्त भएका थिए । उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७