कोशीमा ८० वर्षीय गयानन्द मण्डल राज्यमन्त्री बन्दै, शपथ लिँदै

उपसभामुख दनुवार अनुपस्थित भए के हुन्छ ?


३१ श्रावण २०८०, बुधबार
gayandanda

मोरङ । मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्री बनाएका हुन् ।

मण्डलले आजै बिहान ९ बजे शपथ लिने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्‍याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका छन् ।
प्रदेश सभाको बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् । सभामुखको राजीनामापछि प्रदेश सभाको बैठक उपसभामुख सृजना दनुवारले सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

थापालाई प्रदेश सभाबाट विश्वासको मत लिनका लागि उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ । सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउनेसम्मको रणनीति बनाइरहेको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार कुनै कारण देखाएर बैठकमा अनुपस्थित भएमा ज्येष्ठ सदस्य मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुपर्ने छ । नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित भएका प्रदेश सभा सदस्य मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने अवस्थाको अन्त्य गर्नका लागि मुख्यमन्त्री थापाले उनलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशमा अहिले सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीको १ सिट गरी ४७ सिटको सरकार बनेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस नेतृत्वको सरकारमा जान इच्छुक नभएपछि मुख्यमन्त्री थापा प्रदेश सभाको सहुलियत बहुमत बिनै ४७ सांसदको समर्थनले मात्रै सरकारको नेतृत्व गरिरहेका छन् ।

सभामुख गौतमको राजीनामापछि बहुमत पुर्याएर साउन १६ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभाबाट विश्वासको मत लिएर सरकार विस्तार गर्ने बताउँदै आएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री थापाले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७