विदेशको मोह त्यागेर कृषि कर्ममा युवा, गाउँमै अरुलाई रोजगारी दिंदै भोजपुरका धनकुमार


३१ श्रावण २०८०, बुधबार
Tarkari bhojpur

भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन् । राईले तीन वर्षअघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ ।

‘विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ’, राईले भने, ‘वार्षिक रुपमा नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।’ कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए । अहिले महिनामा पाँच-छ जनालाई रोजगारी समेत दिएको उनको भनाइ छ ।

‘आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुशी लाग्छ’, उनले भने, ‘विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट छु । केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।’ उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताए । ‘कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ’, उनले भने, ‘बजारको राम्रो व्यवस्था नहँुदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।’

नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९÷८० मा रु दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुशी लागेको उनको भनाइ छ । ‘लामो समयबाट कृषिमा लागेको थिएँ’, उनले भने, ‘तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ । यो पटक भने राज्यले सहयोग गरेको छ । यसले मलाई थप हौसला मिलेको छ ।’

युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए । राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको संख्या बढेको उनको भनाइ छ । ‘व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ’, उनले भने, ‘राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको संख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७