अधिकांश बैंकले बढाए निक्षेपको ब्याजदर, कुन खातामा कति ?


३२ श्रावण २०८०, बिहीबार
Bank list

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले भदौका लागि बढाएर ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार नयाँ व्याजदर सार्वजनिक गरिएको हो । साउनमा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका एनएमबि, प्राइम कमर्सियल, कुमारी र एनआईसी एसिया बैंकले भने घटाएका छन् । यी बैंकले ०.०३ प्रतिशत विन्दुदेखि ०.९४ प्रतिशत विन्दुसम्म ब्याजदर घटाएका हुन् ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार एनएमबि बैंकले ०.९४ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । साउनमा मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिँदै आएको यो बैंकले भदौमा ९.९९ प्रतिशत दिने भएको छ । यता २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर बढाउनेमा सरकारी बैंकहरू छन् । सरकारी स्वमित्वका नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा एकदेखि करिब दुई प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

अहिले बैंकहरूमा तरलता सहज छ । तर, कर्जा माग भने कम भएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन् । साउनमा ब्याजदर बढाएका बैंकहरूले केही घटाएका र आगामी दिनमा सबै बैंकको एउटै रेसियोमा ब्याजदर आउने उनी बताउँछन् । केही समयअघि स्थानीय तहको रकम निक्षेपका गणना गर्न नपाउँदा बैंकहरूलाई असहज भएको थियो । तर, अहिले बैंकहरूमा तरलता सहज भएको छ । कर्जा माग कम हुँदा बैंकहरूमा तरलता पर्याप्त भएको कोइराला बताउँछन् ।

by 1

नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । राष्ट्र बैंकका अनुसार सोमबारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३.६९ प्रतिशत कायम छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन दिएअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग थप तीन खर्ब ६६ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

तीन सरकारी बैंक कुनको कति ब्याजदर ?

सञ्चालित २० वाणिज्य बैंकहरूमध्ये नेपाल बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक अर्धसरकारी बैंक हुन् । कृषि विकास र नेपाल बैंकले सर्वसाधारणलाई सेयर जारी गरेका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई सेयर जारी गरेको छैन । यी वाणिज्य बैंकमध्ये भदौमा नेपाल र कृषि विकास बैंकले १०.८९६ प्रतिशत ब्याज दिने भएका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशत ब्याज दिने भएको छ । साउनमा वाणिज्य बैंकले ८.९९ प्रतिशत ब्याजदर दिएको थियो । साउनमा कृषि विकास बैंकले ९.५१ प्रतिशत र नेपाल बैंकले ८.९९ प्रतिशत ब्याज दिएको थियो ।

साउनमा कुमारी, एनआईसी एसिया, प्राइम कमर्सियल, एनएमबि र नबिल बैंकले मात्र दोहोरो अंकमा व्यक्तिगत निक्षेपमा ब्याज दिएका थिए । साउनमा यी बैंकले व्यक्तिगत निक्षेपमा ९.९९ प्रतिशतदेखि एकै पटक बढाएर १०.९४ प्रतिशतसम्म ब्याज दिएका थिए । साउनमा सबैभन्दा बढी ब्याजदर कुमारी बैंक र एनआईसी एसिया बैंकको थियो । यी दुई बैंैकले साउनमा व्यक्तिगत निक्षेपमा १०.९४ प्रतिशत दिएका थिए । तर, यी बैंकले भदौमा भने ब्याजदर केही घटाएका छन् । एनआईसी एसियाले ०.०४ र कुमारीले ०.०४१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । सर्वाधिक ब्याजदर घटाउनेमा एनएमबि बैंक रहेको छ । यो बैंकले ०.९४ प्रतिशतले ब्याजदर घटेको छ ।

भदौमा चार वाणिज्य बैंकले भने साउनमा व्यक्तिगत मुद्दतीमा दिँदै आएको ब्याज नै दिने भएका छन् । यसरी ब्याजदर स्थिर राख्नेमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबिआई बैंक रहेका छन् । यी बैंकले व्यक्तिगत निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागत निक्षेपमा भने यी बैंकले ब्यक्तिगत निक्षेपभन्दा दुई प्रतिशत विन्दुभन्दा कम ब्याजदर दिने भएका छन् । यी बैंकले व्यक्तिगत निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर दिन लागेका हुन् ।

यो ब्याजदर भोलिदेखि लागु हुनेछ । यी बैंकले व्यक्तिगत निक्षेपमा गत महिनाकै ब्याजदर कायम गरेसँगै कर्जाको ब्याज पनि नबढ्ने भएको छ । भदौमा संस्थागत निक्षेपको अधिक ब्याजदर ८.८९६ प्रतिशत र न्यूनतम ६.९२ रहेको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकले संस्थागत निक्षेपतर्फ ६.९२ प्रतिशत ब्याजदर दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७