भुल्केको गुप्तेश्वर महादेव मन्दिर ७० लाख लागतमा संरक्षण गरिँदै


९ भाद्र २०८०, शनिबार
Guptesor gupha 20190613070428 Sl7b6k415N

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक क्षेत्रका रुपमा स्थापित गराउन स्थानीय सरकार गुप्तेश्वरको संरक्षणमा जुटेको हो ।

यो स्थानको संरक्षण गर्न केन्द्र सरकारको ३० लाख र गाउँपालिकाको ४० लाख गरी रु ७० लाख लागत साझेदारीमा मन्दिरसँगै आवश्यक संरचना निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । प्राकृतिकस्वरुपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उनको भनाइ छ । ‘यो ठाउँको विकासमा स्थानीय सरकार जुटेको छ’, वडाध्यक्ष थापाले भने, ‘यसलाई एक स्थापित धार्मिकस्थल बनाउने हाम्रो लक्ष्य हो, धार्मिक क्षेत्रका रुपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिकोपार्जनमा टेवा दिने उद्देश्यले हामीले विकासको काम अघि बढाएका छौँ ।’

करिब चार वर्षअघि सडक विस्तार गर्ने क्रममा देवीदेवताको मूर्ति फेला परेपछि गाउँपालिका र स्थानीयको सक्रियतामा यहाँको संरक्षणमा जुटेको वडासदस्य टेकराज भट्टराईले जानकारी दिए । यो क्षेत्रमा जलाधारको राम्रो सम्भावना रहेकाले पानीको मुहानसँगै यहाँको पञ्चकञ्या देवी थानको पनि संरक्षण भइरहेको उनको भनाइ छ ।

‘यो देवस्थलको उत्पत्ति भएसँगै यहाँ दर्शन गर्न आउने भक्तजनको संख्या बढेको छ’, उनले भने, ‘देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्, आउने भक्तजनलाई लक्षित गरेर थप विकास तथा विस्तारमा स्थानीय सरकार जुटेको अवस्था छ ।’ देवस्थल परिसरको बृहत्तर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर निर्माणको काम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए । यहाँ निर्माण हुने सम्पूर्ण संरचनाको रु चार करोड बराबरको डिपिआर तयार भएको उपाध्यक्ष राईले बताए ।

‘यो क्षेत्रको बृहत्तर विकासमा जुटेका छौँ, गुप्तेश्वरलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न संरक्षण तथा विकासको काम भइरहेको छ’, उनले भने, ‘यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । आन्तरिक तथा बाह्य पर्यटनको विकासका लागि यस्ता ठाउँको विकाससँगै प्रचारप्रसारमा जोड दिइएको उनको भनाइ छ ।

‘गाउँपालिकाको आर्थिक पाटोसँग जोड्न यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ’, अध्यक्ष राईले भने, ‘यस्ता ठाउँको विकासले यहाँको पर्यटनमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य छ ।’ गुप्तेश्वर महादेवस्थलमा पुगेर दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयको भनाइ छ । सडक खन्ने क्रममा देवीदेवताको मूर्तिसँगै अनौठो प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७