‘गौशाला–२६’ ले गरिन् आत्महत्याकाे प्रयास


९ भाद्र २०८०, शनिबार
latest News nayapage1 scaled

काठमाडौं । क्रिकेट सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन् । माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्याको प्रयास गरेकी हुन् । उनी मनोचिकित्सकको परामर्शमा थिइन् ।

उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रेस्क्राइब गरेका थिए । उनको अहिले काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ । अहिले उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो । जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन् ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ । गौशाला–२६ ले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेकी छन् । उनले ३.८७ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । गत वर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यो समयमा सीपीएल क्रिकेटका लागि वेस्ट इन्डिजमा रहेका लामिछाने प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए ।

नेपाल फर्कने लगतै उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई विदेश जानेसमेत अनुमति दिएको थियो । अहिले सन्दीप आइतबारको पेशीका लागि भनेर राष्ट्रिय टिमसँगै पाकिस्तान गएका छैनन् । उनी आइतबारको सुनुवाइपछि पाकिस्तान जाने तयारीमा छन् । पीडितको आत्महत्या प्रयासपछि आइतबारको पेशीबारे पनि अन्योलता छाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७