आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता


५ आश्विन २०८०, शुक्रबार
Shikshya 1695310392

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिना निष्कर्ष टुंगिएपछि आज (शुक्रबार) पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्ने गरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो । उनले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताएका छन् ।

विभिन्न माग राखेर शिक्षकहरू बुधबारदेखि सडक आन्दोलनमा छन् । देशभरका शिक्षक आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७