सर्लाहीको मलङ्गवामा झडपपछि फेरि तनाव : लगाइयो अनिश्चितकालीन कर्फ्यु


५ आश्विन २०८०, शुक्रबार
380604645 654894710069502 3990935313464160319 n 3tNlzfl8D0

सर्लाही । सर्लाहीको मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले गए राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई पक्षबीच झडप भएपछि कर्फ्यु जारी गरिएको उनले बताए । झडपमा परि प्रहरीसहित केही घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

स्थानीय प्रशासनले थप शान्ति सुरक्षा बिग्रन नदिन कर्फ्यु जारी गरेको जनाएको छ । मूर्ति विसर्जन गर्न गएकासँग अर्को समूहले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले मलङ्गवामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको भदौ २२ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा यही क्षेत्रमा झडप भएको थियो । झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले २३ गते बेलुका ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यु लगाएको थियो ।

FB IMG 1695341889661 IapGmjqhOd

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७