एमाले गण्डकी अधिवेशन : नौं सय सात प्रतिनिधिले भाग लिँदै


१४ आश्विन २०८०, आईतवार
gandaki UML2023 09 29 12 33 53

गण्डकी । नेकपा (एमाले) को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए ।

अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उनको भनाइ छ । ‘प्रतिनिधि छनोटलगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ’, उनले भने, ‘सोमबार अधिवेशनको उद्घाटन समारोह र मङ्गलबार बन्द सत्र हुन्छ ।’

विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकांक्षीको नाम चर्चामा आउन थालेको छ । अहिलेसम्म कसैले पनि आधिकारिकरूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

प्रदेश अध्यक्षको आकांक्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेत पनि प्रदेश अधिवेशनको प्रतिनिधिमा चुनिएका छन् ।

केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्द सत्र मङ्गलबार पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दबाडीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७