ओलीसहित एमाले नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा


१४ आश्विन २०८०, आईतवार
prachanda kp oli
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल थालेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठक एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रचण्डले एमालेसँग छलफल थालेका हुन् ।

छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले बोलाएपछि छलफलका लागि बालुवाटार गएको बर्तौलाले जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीले बोलाएपछि अहिले हामी बालुवाटारमा छौं,’ बर्तौलाले भने । ६१ किलो सुन प्रकरणको छानबिनमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सत्तारुढ र प्रतिपक्षी दलबीचमा भदौ ५ गते सहमति भएको थियो । असोज ५ मा आयोग गठन गर्ने सहमतिमा उल्लेख थियो । तर निर्धारित मितिमा आयोग गठन हुन सकेन ।

सत्तारुढ दलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानलाई मान्यता दिनुपर्ने अडान राखेका छन् भने एमालेले आयोगले छुट्टै जाँचबुझ गर्न पाउनुपर्ने माग गरिरहेको छ । आयोगको कार्यविधिबारेको विवादका कारण आयोग गठन नै हुन सकेको छैन ।

एमालेले सरकारले राजनीतिक बेइमानी गरेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि लगाइरहेको छ । सुन प्रकरणमा एमालेले साउन १० देखि भदौ ५ सम्म लगातार संसद अवरोध गरेको थियो । त्यतिबेला एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको थियो । तर पछिल्लो समय एमाले पनि सुन प्रकरणमा मौन रहँदै आएको छ ।

सीआईबीले सुन प्रकरणमा २९ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । लामो समय विदेश भ्रमणमा रहेका प्रचण्डले स्वदेश फर्के लगतै एमालेसँगको संवाद अघि बढाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७