सन्दीपविरूद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित


२५ आश्विन २०८०, बिहीबार
sandeep lamichhane 20190401072744

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज (बिहीबार) पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० फाँटमध्ये आज २१ वटा फाँट मात्रै इजलास बस्ने छ । ९ जना न्यायाधीश अनुपस्थित रहेकाले ती फाँटहरूमा इजलास बस्ने छैन । ६ जना न्यायाधीश सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारी दाहालले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतमा गोला प्रथाबाट इजलास तोकिन्छ । ‘आज उपस्थित हुनुभएका २१ जना न्यायाधीशले गोला थुत्दा उहाँहरूको इजलासमा त्यो मुद्दा परेन,’ दाहालले भने । असोज महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो । यसअघि असोज १ र ७ गते पनि न्यायाधीश अभाव भन्दै जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाइ स्थगित गरेको थियो ।

जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो । त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन् । सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भने पनि काठमाडौं जिल्ला अदालत यसबारे उदासीन देखिएको छ ।

यसरी सन्दीपविरूद्धको मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेशी चढेको ८ महिना हुनै लाग्दासमेत सुनुवाइ हुन सकेको छैन । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो ।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७