स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शैंया भरिभराउ


२६ आश्विन २०८०, शुक्रबार
Bharatpur Hospital Chitwan 1

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शैंया (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शैंया भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् । यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामामीको चाप बढेपछि आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताए । उनले भने, ‘हामीकहाँ आएका सेवाग्राहीहरुलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।’ विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उनले बताए । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष छ, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका छन् ।

त्यस्तै, १० शैंयाको वृद्धवृद्धा वार्डको शैंया आजदेखि बढाएर १६ पुर्‍याइएको छ । ती शैंयाहरुमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताए । उनले भने, ‘सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौँ ।’ अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् ।

यो सङ्घीय अस्पताल हो । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउँछन् । अस्पतालमा शैंया अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् ।

बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् । अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानका अनुसार अस्पतालका सबै शैंया भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएका छैनन् । उनले भने, ‘हाम्रा सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका छन् ।’ शिक्षण अस्पतालमा पाँच सय ५० शैंया सञ्चालनमा छन् । तीमध्ये ९० वटा सघन उपचार कक्ष छन् । नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष अस्पतालमा छन् । ती सबै भरिएको उनले बताए ।

अस्पतालमा अधिकांश शैंया भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए । उनले भने, ‘अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो ।’ स्वास्थ्य बीमा गरेकाहरु सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रुपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।

मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको संख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरुबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरुको संख्या समेत ठूलो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७