यसरी सकियो तलेजुको वाहन सेतो घोडा जात्रा


८ कार्तिक २०८०, बुधबार
talejuko bahan seto ghoda jatra

भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ ।

जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने तलेजुका आचाजु सिद्धिविर कर्माचार्यले जानकारी दिए ।

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र तमारी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिन्छ ।

तलेजुको पायःद्यो जात्रा सम्पन्न

बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ ।

बडादसैंको राति तलेजु आगम मन्दिरको ख कुथि कोठावाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायःद्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताए । जात्राका क्रममा तलेजुमा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।

पायःद्योले दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्धरुपमा प्रतीक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धी प्रदान गर्छन् । तलेजु भवानीबाट मन्त्रसिद्धी प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित पथयात्राका लागि अगाडि बढ्ने प्रचलन रहेको छ । यो जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा नभइकन माथिल्लो र तल्लो टोलमा गर्ने परम्पराको आधारमा हुने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७