टी–२० विश्वकप छनोट : सिंगापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य


१३ कार्तिक २०८०, सोमबार
nepali cricket team 16976271211697699927
फाइल फोटो

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्न सफल भयो । सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।

सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका थिए । गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो । गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए । सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरेका थिए ।

त्यसपछि सन्दीपले जनकप्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे । अभिनास बोहराले १८औं ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराए । त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरेका थिए । बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए । गुल्सन झा, करण केसी र सन्दीप लामिछानले २–२ विकेट लिन सफल भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७