युवा संघ र दुर्गा प्रसाईं समूहलाई माइतीघर–नयाँबानेश्वरमा प्रदर्शन गर्न रोक

दुई प्रदर्शन आमने–सामने हुन नदिन ‘आवश्यक जस्तोसुकै कदम’ चालिने


४ मंसिर २०८०, सोमबार
Mahesh durga

काठमाडौं । मंसिर ७ मा हुने भनिएको नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको विरोध प्रदर्शन माइतीघर र नयाँबानेश्वर क्षेत्रमा गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्याल काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघर र नयाँबानेश्वर क्षेत्रमा कार्यक्रम गर्न नदिइने निर्णय भएको जानकारी दिए । उनले दुवै समूहलाई बोलाएर माइतीघर र नयाँबानेश्वरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताएका छन् । ‘हामीले दुवै पक्षसँग संबाद गरेका छौं । उहाँहरूलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने जानकारी गराइसकेका छौं,’ उनले सुनाए ।

युवा संघ र दुर्गा प्रसाईले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन् । दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो । सहायक सिडिओ आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने बताए ।

‘प्रशासनले तोकेको ठाउँमा विरोध प्रदर्शन गरे मात्र राज्यले पनि सुरक्षाको प्रत्याभूति दिनसक्छ । सुरक्षा खतरा हुने गरी कुनै पनि कार्यक्रम आयोजना गर्न दिँदैनौं,’ उनले भने । दुई समूहले फरक–फरक माग राख्दै एकै ठाउँमा प्रदर्शनको तयारी गरेपछि आइतवार पनि गृह मन्त्रालयका अधिकारीहरूले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।

प्रशासनिक निकायहरूले एउटै स्थानमा कार्यक्रम गर्ने बताएका ‘परस्पर विरोधी देखिएका’ दुई समूहबीच सम्भावित झडप रोक्न आवश्यक जस्तोसुकै कदम चालिने बताएका छन् । ‘दुवै पक्षलाई एउटै ठाउँमा प्रदर्शन गर्न दिने कुरा सम्भव हुँदैन । दुवै पक्षले कार्यक्रमस्थल एउटै तोकेकाले अहिलेबाटै विशेष सतर्कता अपनाइएको छ । सम्बन्धित पक्षसँग पनि छलफल गरेर यसलाई सहजीकरण गर्ने प्रयास हुन्छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईल भने ।

व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् । उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच पछिल्लो समय आरोप–प्रत्यारोप चल्दै आएको छ । यसअघि नेकपा एमालेको केन्द्रीय सदस्यबाट निष्कासनमा परेका प्रसाईले अहिले एमाले नेतृत्वको आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७