उदयपुरमा भूमिहीनका लागि धमाधम जग्गाको नापजाँच हुँदै


२३ मंसिर २०८०, शनिबार
napi kanchanpur
फाइल फोटो

कटारी । उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले बताए । यस पटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ । ‘नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ’, भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भने ।

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले अव भने भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताए । उदयपुरमा कटारीबाहेक बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिकामा जग्गा नापजाँच भइरहेको आयोगको उदयपुर कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए । जिल्लामा जग्गा नापीको कामलाई तीव्रता दिएको बताउँदै उनले सबै स्थानीय सरकारसँगको सहकार्यमा नापीको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७