हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा


२४ मंसिर २०८०, आईतवार
Kamal Thapa 4

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन् । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए । अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ । उनको यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिल गरे ।

उनले भने, ‘हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको एजेण्डाको मुख्य संवाहक राप्रपा नेपाल हो । हामीले नै अब यो एजेण्डा स्थापित गर्नका निमित्त आन्दोलन नै अन्तिम विकल्प भएको ठहर गरेको र त्यो लक्ष्य प्राप्त गर्नको निमित्त बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भनेर हामीले नै अग्रसरता लिएको सबै साथीहरुलाई जानकारी नै छ । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो । यो सन्देश हामीले आम जनता समक्ष दिनुपरेको छ । अर्थात् संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन । तसर्थ सम्पूर्ण जनता सडक संघर्षमा आउनु जरुरी छ ।’

अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रुपमा कमजोर भएको बताउनु भयो । अझैपनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेका बताएका छन् । भातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७