एनसेलविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा


२८ मंसिर २०८०, बिहीबार
sarbochcha 1

काठमाडौं । सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटमाथि आज (बिहीबार) सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ ।

बुधबार सुनुवाइका लागि पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । चार पटक लगातार ‘हेर्न नभ्याइने’ सूचिमा परेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो । यसअघि मंसिर २४ गते न्यायाधीश कुमार रेग्मी, २५ गते न्यायाधीश विनोश शर्मा, २६ गते न्यायाधीश प्रकाश कुमार ढुंगाना र २७ गते नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको थियो ।

प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ ।

नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ ।

एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ । मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७