सरकारको समर्थन फिर्ता लिएर संघर्षको कार्यक्रम घोषणा गर्न नेता महतोको आग्रह


२९ मंसिर २०८०, शुक्रबार
rajendra mahato
फाइल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न माग गरेका छन् ।

नेता महतोले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबध भएर प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् । नेता–कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन् ।

लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मधेस आन्दोलनको क्रममा असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको हो । नेता महतोले थरुहट र मधेसी मोर्चाका सबै नेताहरुलाई अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको षड्यन्त्रविरुद्धमा सरकारबाट समर्थन फिर्ता गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘स्मरण रहोस्, नेतृत्वको आह्वानमा हुने आन्दोलनका कारण आन्दोलनकारी कार्यकर्ता नेतामाथि अन्याय, अत्याचार, पीडा हुँदा आन्दोलन आह्वानकर्ता पार्टी र नेता सत्ता स्वार्थ छोडी हिम्मतका साथ ती आन्दोलनकारी जनतालाई साथ सहयोग नदिने हो भने त्यस्ता पार्टी र नेताप्रतिको विश्वास र भरोसा निश्चित रुपमा टुट्न जानेछ र त्यस्ता नेतृत्वको पछि किन लाग्ने भने प्रश्न स्वाभाविक रुपमा उठ्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७