१२ पटक म्याद थप हुँदा पनि ‘काभ्रे एकीकृत खानेपानी आयोजना’ अधुरै


४ पुष २०८०, बुधबार
khanepani kavre mk

काभ्रेपलाञ्चोक । जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि आयोजनाले ठेक्का तोडेर कानुनी उपचारमा लागेको जनाएको छ ।

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि आयोजनाले कानुनी उपचारको बाटो खोजेको हो । इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । ‘१२औँ पटकसम्म म्याद थप्दा इङ्कले काम नगरेपछि कानुनी उपचारको बाटोमा गइएको छ, अब न्यायालयले आयोजनालाई न्याय दिलाउने अपेक्षा गरिएको छ’, आयोजनाका इञ्जीनीयर राजकुमार प्रधानले भने । आयोजनाले उक्त कम्पनीलाई १२औँ पटक म्याद थप्दा सन् २०२० को नोभेम्बरमा सक्ने समय सीमा दिएको थियो ।

आयोजनाको सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थका अनुसार १२औँ पटकको समयसीमामा काम सम्पन्न नभएपछि बोर्डको निर्णयबाट ठेक्का तोडिएको हो । हालसम्म आयोजनाको भौतिक प्रगति ९६ दशमलव ६० प्रतिशत सकिएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार लाभान्वित हुने समेत प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयका घर–घरमा २४ सै घण्टा स्वच्छ खानेपानी पु¥याउने जनाइएको थियो । सन् २०१२ डिसेम्बार १९ मा नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच ऋण सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको थियो ।

परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै कम्पनीले आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याएपछि कानुनी बाटोमा गइएको आयोजनाले जनाएको हो । करिब चार महिना पानी वितरण परीक्षणलगायत बाँकी भौतिक काम सकिने बताइन्छ । एडिबीको २९ प्रतिशत, नेपाल सरकार २१ प्रतिशत, नगर विकास कोषको ऋण ३५ प्रतिशत र १५ प्रतिशत स्थानीय सहभागितामा सम्पन्न गर्ने सम्झौता गरिएको आयोजना १२ जुन २०१५ मा सक्ने सम्झौतामा उल्लेख छ ।

कोषको ऋणमा वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौता भएको हो । आयोजनाका अनुसार इन्टेक निर्माण ९८ प्रतिशत, रिजर्भ ट्याङ्की निर्माण ९७ प्रतिशत मुख्य प्रसारण पाइप लाइन विछ्याउने कार्य ९६ दशमलव ८०, ९२ प्रतिशत वितरण पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ । इञ्जीनीयर प्रधानले आयोजनामा हालसम्म ७६ दशलमलव ३२ प्रतिशत प्रगति भएको बताउनुभयो । आयोजनाको कूल लागत भ्याटबाहेक रु ९९ करोड आठ लाख सात हजार रहेको छ ।

आयोजना अन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन)को काम सम्पन्न भएको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले क्षति पु¥याइएका सामग्रीको नगर र विभागले नै बनाइ दिएका छन् ।

तीन नगरका एक हजार एक सय १४ इन्टर–कनेक्शन गरिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडान समेत गरिएको छ । खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाउँदै खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणका लागि परीक्षण कार्य थाल्न लगाएका छन् ।

यस्तै पनौती नपा–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माणकार्य सक्न बाँकी रहेको जनाइएको छ । आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् । ‘ठकेकेदारले नियमित काम गरेको भए तीन वर्ष अघिनै तीन नगरका नागरिकले स्वच्छ पिउने खानेपानी पाइसक्नु हुन्थ्यो, तर हामी जनप्रतनिधि आ–आफ्ना प्रयासमा लागेका छौँ’, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले भने । उनका अनुसार आयोजना केही वर्ष लम्बिए पनि छिट्टै स्थानीयका घरमा पानी पुर्‍याइने छ ।

यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७