अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा फसे एक हजार गाडी


२० पुष २०८०, शुक्रबार
swi

काठमाडौं । अत्यधिक हिमपातका कारण स्विडेनको एक राजमार्गमा एक हजार वटा गाडी फसेका छन् । २४ घण्टाभन्दा लामो समयदेखि एक हजार वटा कार र लरी फसेका हुन् । गाडीमा रहेका यात्रुलाई सेनाले खाना र पानी पुर्‍याएको बीबीसीले जनाएको छ ।

स्विडेनको ई–२२ राजमार्गमा फसेकाहरूको उद्धार कार्य चलिरहेको सरकारी अधिकारीले बताएका छन् । यात्रुको उद्धार गरे पनि गाडीहरू सडकबाट निकाल्न नसक्दा सडक बन्द छ । एक यात्रु एरिका सेपेलियोवेइटले साना बच्चासहित आफूहरू फसेको १९ घण्टामा बल्ल उद्धार भएको बताएको खबरमा उल्लेख छ ।

सेनाले हिउँ पन्छाएको आधा घण्टामा सडकहरू फेरि ढाकिएर गाडी फस्ने अवस्था रहेको बताएको छ । नर्डिक देशहरूमा अहिले न्यूनतम तापक्रमले रेकर्ड बनाइरहेको छ । स्विडेनको मौसम विभागले हिजो माइनस ४३ डिग्री तापक्रम मापन गरेको छ, यो २५ वर्षयताकै कम तापक्रम हो । अत्यधिक चिसो मौसमले स्विडेन, फिनल्यान्ड र नर्वेको जनजीवन निकै प्रभावित भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७