मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल


२२ पुष २०८०, आईतवार
tiger cp6qdgUSqA
फाइल फोटो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते भए । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा परे ।

यसैगरी गत मंसिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते भए । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुरका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन् । गैँडा, मृग, बँदेललगायतका जनावर वस्तीमा प्रवेश गर्न थालेसँगै क्षति समेत बढ्दो छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षति समेत पुर्‍याउन थालेसँगै समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले बताइन् । ‘दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने बेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यति मात्रै होइन साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको छ’, उनले भनिन् । दिनहुँजसो गैँडा बस्तीमा आएर दुःख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताइन् ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको क्षति बढ्दो रहेको मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए । पटक–पटक वन्यजन्तुले बालीनाली, चौपायामा क्षति पुर्‍याउने तथा मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेको वडाध्यक्ष अधिकारीले बताए । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको उनले बताए । मध्यवर्तीमा वन्यजन्तुको समस्याले गर्दा बसाइँसराइको प्रभाव पार्दै आएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताए । ‘वन्यजन्तुले दुखः दिन्छ भनेपछि बसाइँसराइ गरी आउने कम हुने त भयो नै भएका पनि आजित भएर सक्ने अन्यत्र जान थालेका छन्’, उनले भने । वन्यजन्तुकै कारण हिजो मध्यवर्ती क्षेत्रका पुराना बस्ती पातलिने क्रम बढ्दै गएको उनले बताए ।

संरक्षणकर्मी प्रेमशङ्कर मर्दनिया थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसे मैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताए । ‘वनभित्र वन्यजन्तुको बासस्थान सुधार गर्ने, पर्याप्त आहारा हुनेगरी घाँसेमैदान निर्माण गर्ने साथै पर्खालसहितको मेसजाली लगाउने काम गर्न आवश्यक छ’, उनले भने, ‘यसबाट वन्यजन्तु बस्तीतर्फ आउने क्रम कम हुन्छ र क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।’ वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट योजना निर्माण गर्नुपर्ने उनले बताए ।

मध्यवर्तीका कारण आर्थिक विकासमा असर परेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । मध्यवर्तीकै कारण विकासका काम गर्न बाधक भएको तथा यहाँका बासिन्दाले आफ्नो सम्पत्तिको सही उपभोग गर्न समस्या परेको उनले जानकारी दिए । वन्यजन्तुले पुर्‍याएको क्षति मात्रै नभएर मध्यवर्तीले विकासका काममा समस्या पारेको नगर प्रमुख भुसालले बताए । ‘हामी संरक्षणविरोधी होइन, तर ऐन, कानुन जनतालाई सहज पार्ने हुनुपर्‍यो, कुनै बिरुवा लगाए त्यसको प्रयोगका लागि निकुञ्ज धाउनुपर्छ, विकासका काम गर्न उस्तै बाधा अड्चन छन्’, उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७