राजतन्त्र इतिहास भइसक्यो : माधव नेपाल


२६ पुष २०८०, बिहीबार
madhav

कैलाली । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

कैलालीको टीकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरी गतिविधि भइरहेको भन्दै त्यो सम्भव नरहेको प्रष्ट पारेका हुन् । ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन ।’

उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरंकुश र अधिनायकवाद काम नलाग्ने दाबी गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरि दास बनाउने गरी कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’
उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रूपमा नरहेको बताएका थिए ।

‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नु पर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’, नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन् । त्यो संख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’ आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडि बढेको समेत बताए । सेती लोक मार्ग, रानीजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७