होमस्टेका पाहुनालाई चिचर र घोगीका परिकार


१ माघ २०८०, सोमबार
Ghogi pakaudai

नवलपरासी । नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ ।

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ । ‘हाम्रो घरबासमा आउने पाहुना आफैले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो चिचर पकाउने गरेका छौँ’, अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, ‘थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेको छ ।’

चिचरसँगै नुमैचा (भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो) समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोले बताए । घरबासले पर्यटकलाई बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा, माछा पस्किने गरेको सञ्चालक महतोले बताए ।
‘अमलटारी घरबास भन्ने बित्तिकै पाहुना चिचर र माछा सम्झन्छन्’, अमलटारी घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनिया थारुले भने । थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको अध्यक्ष मर्दनिया थारूले बताए ।

नेपाल घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहेका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पुर्‍याउने काम गरेको छ । साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन उत्तिकै भूमिका निर्वाह गरेको उनले बताए । ‘घरबासले स्थानीय रहनसहन र खानपानलाई बजारीकरण त गर्‍यौँ नै, बजारीकरण कै क्रममा नवलपुरका घरबासको पहिचान चिचर, घोगी र माछा बन्यो’, मर्दनियाले भने, ‘घरबासलाई थारू परिकारले समेत चिनाएको छ ।’

चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन् । थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्राय चिचर, नुमैचा, घोगी जस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उनले बताए । ‘थारू समुदायले मात्रै विशेषरुपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, यसले गर्दा धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई टक्राउँछौं’, अध्यक्ष महतोले भने । घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उनले बताए ।

अमलटारी घरबासमा मकवानपुरबाट आएका चिरञ्जीवी अर्याललाई चिचर नौलो परिकार लागेको बताए । हेर्दा भात जस्तै भए पनि विशेषरुपले पकाएकाले फरक लागेको उनले बताए । ‘हेर्दा सामान्य लागे पनि विशेष तरिकारले चिचर पकाइदो रहेछ, त्यसमा माछा, घोगीसँग खाँदा फरक स्वाद लाग्यो’, अर्यालले भने ।

थारू समुदायमा पहिले पहिले तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए । अनदीको चामलको तयार पारिने हुँदा पोषिलो हुने र यसले शरीरमा तागत दिने, जिउ दुखेको सञ्चो गराउने भएकाले चिचर खाने गरिएको उनले बताए । ‘पहिले पहिले बढी श्रममूलक काम गर्नुपर्ने हुँदा आडिलो भोजनको रुपमा साथै जिउ दुखेको सञ्चो हुन्छ भनेर अनदिको चामल उसिनेर खाने गरिन्थ्यो’, अध्यक्ष महतोले भने ।

जाडो मौसममा खाँदा शरीरमा उर्जा बढाउने हुँदा समेत जाडो मौसममा चिचर खाने प्रचलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको उनको भनाइ छ । मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते खाने गरिएको उनले बताए । ‘पुसको अन्तिम दिन पकाउने, केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ, माघीको दिन निकालेर खाने गरिन्छ’, अध्यक्ष महतोले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७