पर्यटनमन्त्रीकाे एक वर्षे उपलब्धि : निगमको ऋण भुक्तानीदेखि बेचिएका मूर्ति फिर्तासम्म (पूर्णपाठ)

‘६० भन्दा बढी पुराना गाउँ खोजेर पर्यटन प्रवर्द्धन गर्दैछौं’


३ माघ २०८०, बुधबार
sudan kirati

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरु गरेको बताएका छन् । आज (बुधबार) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले पर्यटन प्रवर्द्धनका लागि ६० वटाभन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको जानकारी दिए । उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए ।

उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे । उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए । उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए ।

मन्त्री किराँतीले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताए । मन्त्री किरातीले आज पत्रकार सम्मेलन गर्दै उनले १५ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो प्रगति विवरणमा सगरमाथादेखि, पशुपति र लुम्बिनीसम्ममा भए गरेका कामको फेहरिस्त सुनाएका छन् । उनले पर्यटक ल्याउन गरिएका पहलदेखि नीतिगत सुधारका विवरण पनि आफ्नो उपलब्धिमा समेटेका छन् ।

किरातीले नीतिगत सुधारतर्फ वायुसेवा निगम र नारायणहिटी दरबार संग्रहालयमा ई–टिकट प्रणाली लागु गरिएको जनाएका छन् । त्यस्तै पर्वतारोहण सुरक्षाको लागि पर्यटक सूचना व्यवस्थापन प्रणाली (टीआईएमएस) लागू गरिएको किरातीले बताएका छन् । उता वर्षौंदेखि गैरकानुनी तरिकाबाट पशुपतिमा नियुक्ति गरिएका सयभन्दा बढी संख्याका सल्लाहकार खारेज गरिएको कुरालाई पनि उनले उपलब्धि भनेका छन् ।

पशुपति गौशाला धर्मशालाको सम्झौता रद्ध गरी समसामयिक बनाउन नयाँ प्रक्रिया थालनी गरिएको पनि उपलब्धिमा उल्लेख छ । गैरकानुनी रुपमा संचालित पशुपतिको बसपार्कको टेण्डर रद्द गरी नियमित ढंगले संचालन गर्न प्रक्रिया सुरु गरिएको किरातीले जनाएका छन् । त्यसैगरी दोलखाबाट हराएको बज्रधरको मूर्ति २८ वर्षपछि हङकङबाट फिर्ता गरी पुनःस्थापना गरिएको पनि उनले उपलब्धिमा उल्लेख गरेका छन् ।

नेपालबाट विभिन्न समयमा विदेशिएका मूर्तिहरू हालसम्म १४५ वटा फिर्ता ल्याइसकिएको कुरा उपलब्धिमा समेटिएको छ । त्यस्तै अभौतिक सांस्कृतिक सम्पदाहरूलाई कार्यविधि तयार गरी सूचीकरणको कार्य प्रारम्भ गरिएको उपलब्धिमा लेखिएको छ । अनलाइन प्रविधिको माध्यमबाट होटल दर्ता तथा पर्वतारोहण अनुमति प्रणाली लागु गरिएको किरातीले जनाएका छन् । गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन अनलाइन प्रणालीको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ ।

उपलब्धिमध्ये किरातीले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा भइसकेको पनि भनिएको छ । नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको कुरालाई पनि उपलब्धि भनिएको छ। उता स्वीजरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा रहेको किरातीले बताएका छन् ।

हिमाल सरसफाफाइसम्बन्धी तीन वर्षे रणनीतिक योजना तयार गरिएको पनि किरातीले जनाएका छन् । उनले आफ्नो उपलब्धिका रुपमा सगरमाथाको चुचुरोबाट स्काइडाइभिङ परीक्षण सफलतापूर्वक सकिएको पनि उल्लेख गरेका छन् । सगरमाथाबाट प्याराग्लाइडिङ र स्काई डाइभिङ सफल परीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोकको जुगल हिमश्रृखंलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएकोलाई पनि उपलब्धि भनिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरूको चिनारी (प्रोफाइल) तयार गरिएको पनि उपलब्धि भनिएको छ । भूकम्पबाट क्षति भएका सम्पाहरूको मतसम्भार र पुनर्निर्माणको कार्य भएको पनि जनाइएको छ । कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि उल्लेख गरिएको छ । उता लुम्बिनी गुरु योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्देशन अनुसार काम भइरहेको किरातीले जनाएका छन् ।

रामग्रामको बृहत्तर विकासका लागि निजी क्षेत्रसँग साझेदारी मोडलमा कार्य अघि बढाइएको पनि उल्लेख छ । नेपाल वायु सेवा निगमका दुर्गम क्षेत्रमा उड्ने र अवतरण गर्ने जहाज खरिद गर्न प्रकाशित टेन्डर अन्तिम चरणमा रहेकोलाई पनि किरातीले उपलब्धि भनेका छन् । सन २०१२ बाट ग्राउन्डेड भएक ट्विनअट्टर जहाज मर्मत गरी सञ्चालनमा ल्याउन मर्मत सम्भार भइरहेको पनि उनले जनाएका छन् ।

क्षेत्रीय विमानस्थलमा उडान र अवतरण गर्ने तीन र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तीन न्यारोबडी जहाज लिने लिज प्रक्रिया अघि बढाइएको पनि उनले जनाएका छन् । लामो समयदेखि थन्किएर रहेको चिनियाँ जहाजको लिलाम बिक्री प्रक्रिया अघि बढाइएको किरातीले उपलब्धि भनेका छन् । नेपाल वायुसेवा निगमको ऋणको सावाँ र व्याज वापतको करिब चार अर्ब किस्ता भुक्तानी गरिएको पनि उनले उल्लेख गरेका छन् ।
हेर्नुस् अरु उपलब्धिका सूची
१) पर्यटक दुत खारेज गरि पर्यटक प्रवर्द्धक कार्याविधि स्वीकृत गरिएको ।
२) संघीयताको मर्म-भावना अनुसार विभिन्न विकास समितिहरूलाई प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रकृयाका लागी प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरिएको ।
३) पर्यटन दशकलाई प्रभावकारी बनाउन कार्ययोजना अघि बढाइएको ।
४) संघ, प्रदेश र स्थानीय तह सहित विषयगत समितिको बैठक बसी पर्यटन विकासको निम्ति
महत्वपूर्ण निर्यणयहरू गरिएको ।
५) पाइलट प्रशिक्षणका लागि फ्लाइङ स्कूलहरूलाई अनुमति प्रदान गरिएको ।
६) सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भए अनुसार विभिन्न संस्थाहरूलाई एकीकृत गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पठाइएको ।
७) संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन र मन्त्रालयको संयुक्त आयोजनामा एशिया तथा प्रशान्त क्षेत्रमा टरिजम स्याटेलाइट एकाउन्ट विषयक कार्यशाला काठमाडौंमा सम्पन्न गरिएको ।
८) मन्त्रालय मातहतका विभिन्न प्रतिष्ठानहरूको रिक्त नयाँ पदाधिकारीहरू नियुक्ति गरी सम्बन्धित प्रतिष्ठानको कामलाई निरन्तरता दिइएको ।
९) राष्ट्रिय ललितकला सम्मेलन सम्पन्न गरिएको ।
१०) गौतमबुद्धको जन्मस्थल लुम्विनी बगैंचाको इन्ट्रिग्रेटेड म्यानेजमेन्ट फ्रेमवर्क स्वीकृत भएको ।
११) मन्त्रालय र यस अन्तर्गतका निकायहरूको संगठन पुनसंरचना सम्बन्धमा समिति गठन गरी संगठन तथा व्यवस्थापन सर्भे (ओ एन्ड एम सर्भे) कार्य भइरहेको ।
१२) विमस्टेक क्षेत्रको पर्यटन विकासका लागि काठमाडौंमा विमस्टेकस्तरीय वर्किङ ग्रुपको बैठकको आयोजना गरिएको ।
१३) युनेस्कोको समन्वयमा रामग्राम स्तुपाको उत्तर र पश्चिम भागको उत्खनन् कार्य अघि बढाइएको ।
१४) नेपाल वायु सेवा निगमबाट विषद् उद्धार नीति स्वीकृत गरी लागु गरिएको ।
पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७