महानगरविरुद्ध दोस्रो दिन पनि व्यावसायीको प्रदर्शन


१० माघ २०८०, बुधबार
b 1

काठमाडौं । काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा पार्किङ निषेधको निर्णय गरेसँगै यसक्षेत्रका सम्पूर्ण व्यापारीहरू आज (बुधबार) दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन् । हिजो (मंगलबार) बाट पसलको सटर बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि आन्दोलनलाई जारी राखेका छन् ।

newroad 1

धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न नपाइने काठमाडौं महानगरले निर्णय गरेको छ । यस निर्णयले आफूहरूको व्यापारमा कमी ल्याएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।

birodh 1

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन । महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ । महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पार्किङ खोल्ने भन्दै बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ । महानगरले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७