सडक स्तरोन्नतिको काममा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा


१५ माघ २०८०, सोमबार
Akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा मुगुका छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर, वडाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

नगरपालिकाको वडा नम्बर७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको ठहर अख्तियारको छ ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सारू, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव–इन्जिनियर हस्त बहादुर मल्लले ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गर्नुपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी २८ लाख, ६२ हजार, ४५९ रुपैयाँ बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुरमा अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी बिगो कायम गरिएको छ । यसै गरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

यस्तै सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही इन्जिनियर कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको तथा वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावल र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७