‘आईसीपी’ दुई देशको व्यावसायिक कारोबारको लागि महत्वपूर्ण : पूर्व अर्थमन्त्री पौडेल


१७ माघ २०८०, बुधबार
bish scaled

भैरहवा । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आईसीपीका दुई देशको ब्यवसायिक कारोबारको लागि महत्वपूर्ण मानिएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गदै पूर्व उपप्रधानमन्त्री पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताए । उनले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए । दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उनको भनाइ छ ।

‘आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरु भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो’, उनले भने । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताए । ‘छिटो काम सुरु गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौं, ’उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहेका नेता पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए । उनले आईसीपीको प्रयोग विभिन्न ठाउँमा हुन लागेको बताए । आईसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने पौडेलले बताए ।

निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) को काम तीव्ररुपमा भई रहेको छ, जग्गा हस्ताण्तरण भई काम सुरु भएको एक बर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवम २५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ । करिब १५ बर्ष अघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि लामो आईसीपी निर्माणको काम अगाडी बढ्न सकेको थिएन ।

भारततर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाई भईरहेको थियो । भैरहवा भन्सार कार्यालय भन्दा करिब डेढ किलोमिटर पश्चिमतर्फ भारतीय भूमि भारतले अधिग्रहण गरे पछि अहिले दुबैतर्फ आईसीपीको निर्माणले तीव्रता पाएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वमन्त्रीको उपस्थितिमा आईसीपीको संयुक्त अनुगमन गरिएको बताए ।

उनले परियोजना व्यवस्थापनले दिएको जानकारी अनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताए । प्रजिअ अर्यालले भने, ‘मुलतः करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्रस्तुति रह्यो । त्यो भनेको आफैमा नराम्रो होइन । त्यसमा सबै सरोकारवालाहरुले परियोजनाले सहयोग गर्ने र निर्माण कार्यलाई द्रुत गतिले अगाडि बढाउने सहमति भएको छ ।’

सुरुमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरुसँग आएको र स्थानीय पालिकाहरुसँग छलफल तथा संवाद गरिएको बताए । उनले भने, ‘कतिपय सन्दर्भमा सहजीकरण गरेर निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधान गरेका छौं । मलाई लाग्छ अब यो परियोजनामा निर्माण सामग्रीसँग सम्बन्धित समस्या रहँदैन ।’

नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो । आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज जस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो । यीमध्ये वीरगञ्ज र बिराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आईसकेको छन भने नेपालगञ्जमा र भैरहवामा निर्माणाधीन अवस्थामा पुगेको हो ।

भारतीय कम्पनी के.एस.एम. वसिर मोहम्मद एण्ड सन्सलाई आईसीपी निर्माणका लागि भारत सरकारले जिम्मा दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न हुने आईसीपी क्षेत्रमा भन्सार, पार्किङ, सेड, अध्यागमन, कृषी एवं पशु क्वारेन्टाइन, यार्ड, प्रयोगशाला, सुरक्षाकर्मी व्यारेक, प्रवेशद्वार, सुरक्षा पर्खाल, बैंकलगायतको संरचना बन्ने छन् । ३५ दशमलव ११ हेक्टरमा फैलिएको आईसीपीमा आयात तर्फ ६ सय ९२ र निर्याततर्फ २ सय ७० वटा गरि १ हजार वटा ट्रक पार्किङ्ग गर्न मिल्ने स्थान हुनेछन् । वीरगञ्जको आईसिपी अप्रिल २०१८ र बिराटनगरको अप्रिल २०२०मा सञ्चालनमा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७