भारतसँगको १० हजार मेगावाट विद्युत व्यापार सम्झौतामा सर्वोच्चले माग्यो ‘एमीकस क्यूरी’


१९ माघ २०८०, शुक्रबार
sarbochha 1

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल–भारत विद्युत् व्यापार सम्झौताको सम्बन्धमा परेको रिटबारे छलफल गर्न ‘एकीकस क्यूरी’ (अदालतको सहयोगी) झिकाउने आदेश दिएको छ । न्यायाधीश नहकूल सुवेदीको एकल इजलासले विषयवस्तुको प्रकृति र गाम्भीर्यता हेर्दा दुवै पक्षबीच छलफलको आवश्यक पर्ने भएकाले माघ २३ गते छलफलका लागि पेसी समेत तोकेको छ ।

‘निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा, निवेदकले रिट निवेदनमा नेपाल र भारत सरकारकाबीच ४ जनवरी २०२४ मा हस्ताक्षर भएको ‘लङ टर्म पावर ट्रेड एग्रीमेन्ट’ मा केवल विद्युत व्यापार को विषय मात्र नभई जलविद्युत् उत्पादन र विद्युत प्रसारण पूर्वाधार मा लगानी गर्ने जस्ता नेपालको संविधानको धारा २७९ आकर्षित हुने प्राकृतिक स्रोतको उपयोग र बाँडफाँडको विषयसमेत समावेश भएको भन्ने प्रश्न उठाएको देखिँदा विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षबीच छलफल गरी अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्ने भन्ने सम्बन्धमा टुङ्गो गर्नु उपयुक्त देखिएकाले मिति २०८०।१०।२३ को छलफलको पेशी तोकिदिएको छ’ आदेशमा छ ।

छलफलको दिन सम्झौताको सक्कल प्रतिसहित उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउने आदेश भएको छ । ‘प्रस्तुत मुद्दामा समावेश भएको संवैधानिक तथा कानूनी प्रत्रलाई दृष्टिगत गरी प्रस्तुत मुद्दाको छलफलमा १–१ जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता अदालतको सहयोगी (एमिकस क्यूरी) का रुपमा पठाईदिनू भनी रिट निवेदन र निवेदन साथ संलग्न कागजातको प्रतिलिपि समेत संलग्न गरी नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई लेखी पठाउनू’ आदेशमा छ ।

उक्त सम्झौता लागु नगर्ने माग गर्दै सूर्यनाथ उपाध्यायले रिट हालेका थिए । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सुरेन्द्र भण्डारी र टिकाराम भट्टराई तथा अधिवक्ता सुलभ खरेलले बहस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७