बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको ‘रुलिङ’


१० फाल्गुन २०८०, बिहीबार
devraj

काठमाडौँ । सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको विषयमा सांसदहरूले उठाएको विषयको जवाफ दिन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग राख्दै अवरोध गरेका थिए । बालकुमारी घटनामा सरकारको छानबिन प्रतिवेदनले नै दोषी देखाएको भन्दै तत्काल पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । त्यसबारे गत फागुन ६ गते बसेको बैठकमा नै सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले सोही ध्यानाकर्षण सम्झाउँदै संसदमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन् । प्रतिपक्षी दलहरूको विरोधपछि सभामुख घिमिरेले एमाले, रास्वपा र राप्रपाका सांसदलाई बोल्न समय दिएका थिए । एमाले सांसद रघुजी पन्तले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरे ।

त्यस्तै, रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटना सामान्य नभएको भन्दै दोषी देखिएका मन्त्रीलाई कारबाही गर्न माग गरे। राप्रपाका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि सोही विषय उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक सुरु गर्न लाग्दा पनि प्रतिपक्षी सांसदले अवरोध गरेका थिए । उनीहरूको विरोध लगातार कायम गरेपछि सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेया समयमा उठेका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरे । लगत्तै अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७