आजबाट भारतमा महिला प्रिमियर लिग हुँदै, शाहरूख खान पनि उपस्थिति हुने


११ फाल्गुन २०८०, शुक्रबार
sa

बैंग्लोर । भारतीय महिला प्रिमियर लिग २०२४ आज (शुक्रबार) बाट सुरु हुँदैछ । यो लिग यही शुक्रबार अर्थात २३ फेब्रुअरीबाट सुरु हुँदा यसको उदघाटन खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।

यो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । खेल साँझ ७ः३० बजे सुरु हुनेछ तर यस प्रतियोगिताको उद्घाटन समारोह त्यसको एक घण्टा अगाडि अर्थात् साँझ ६ः३० बजेबाट सुरू हुनेछ । जसमा बलिउडका ठूला स्टारहरु तरङ्ग मच्चाउने छन् ।

महिला प्रिमियर लिग २०२४ को उद्घाटन समारोहमा वरुण धवन, टाइगर श्राफ, कार्तिक आर्यन, शाहिद कपूर र सिद्धार्थ मल्होत्रा जस्ता सुपरस्टारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन् । यस क्रममा शाहरुख खान पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् । गत वर्षको उदघाटन समारोह भन्दा यस वर्षको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ । महिला प्रिमियर लिगको उद्घाटन समारोहको लाइभ स्ट्रिमिङ जियो सिनेमा एपमा हेर्न सकिन्छ । साथै स्पोर्टस–१८ च्यानलमा प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ ।

महिला प्रिमियर लिगको यो दोस्रो सिजन हो । पहिलो सिजन एउटै स्थानमा खेलाइएको थियो तर यस पटक लिग दुई स्थानमा खेलाइनेछ । बैंगलोर र दिल्लीलाई यस लिगको आयोजक सहरको रूपमा छनोट गरिएको छ । २३ फेब्रुअरीदेखि ४ मार्च सम्मको उद्घाटन खेलदेखि सबै खेलहरू बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा खेलाइनेछ ।

यसपछि लिग चरणका बाँकी खेलहरू र एलिमिनेटर र फाइनलका खेलहरू मार्च ५ देखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछन्। दुवै स्थानमा ११–११ खेल हुनेछन् । यस पटक महिला प्रिमियर लिगमा कुल २२ खेल हुनेछन् । लिग चरणमा पाँच टोलीले एक एक गर्दै आमनेसामने गर्नेछन् । प्रतियोगिताको फाइनल खेल १७ मार्चमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७