भारतीय विदेशमन्त्री स्वराज चढेको विमान सम्पर्कविहीन

काठमाडौं, २१ जेठ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । उनले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् ।
शनिबार सुष्मा स्वराज चढेको विमान १४ मिनेटसम्म सम्पर्कविहीन भएपछि तनावको अवस्था सिर्जना भयो । स्वराजको दक्षिण अफ्रिकाको यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले एक अलर्ट जारी गरेपछि १४ मिनेटसम्म स्थिति असामान्य रहेको बीबीसीले जनाएको छ ।
सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन्, करीब १४ मिनेटसम्म उक्त विमानको सम्पर्क मोरिससको एटीसीसँग नभएपछि अलर्ट जारी गरिएको थियो । एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर जेबी सिंहका अनुसार मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो । यदि कुनै विमान आधा घण्टासम्म सम्पर्कमा नरहे यस्तो अलर्ट जारी गरिन्छ । उनले भने ‘भीआईपी सवार भएकाले समय भन्दा अगावै एलर्ट जारी गरिएको थियो’, सिंहले भने, ‘त्यो वायुसेनाको विमान थियो र हाम्रो एयरस्पेसमा थिएन ।
माले (मालदिभ्सको राजधानी) ले मोरिससलाई उक्त विमानसँग सम्पर्क गर्नका लागि सन्देश दिएको थियो । मोरिससको एटीसीले १४ मिनेटसम्म विमानबाट रेडियो सम्पर्क स्थापित गर्न सकेको थिएन ।’ आइतबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘सायद मोरिससले विमानमा भिआइपी (अति विशिष्ठ व्यक्ति) सवार भएकाले उक्त अलर्ट जारी गरेको थियो ।’ एम्बार १३५ विमान इन्धन लिनका लागि त्रिरुवनन्तपुरम र मोरिससमा रोक्नु परेको थियो ।