छिरिङले पाइन् राष्ट्रपति पौडेलबाट गिनिज बुकको प्रमाणपत्र


१४ फाल्गुन २०८०, सोमबार
xiring 1

काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् ।

छिरिङ र जगदिश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)’ को रेकर्ड राखेका थिए । राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ (अप्रिल–मे) मा सगरमाथा समेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए । ‘राष्ट्रपति ज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनु भयो’, छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

xiring

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरेलगायतको उपस्थिति थियो ।

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन् । छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहणसम्बन्धी तालिम लिइसकेकी छन् । उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा ’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन् । छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–६ मा जन्मिएकी छिरिङ हाल गोर्कणेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७