प्रमुख प्रशासकीय अधिकृतलाई वडाध्यक्षहरूले कुटे, नगर प्रमुखको कार्यकक्षमा ताला


१५ फाल्गुन २०८०, मंगलवार
Devdaha Napa

बुटवल । देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन् । सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि कुटपिट गरेका हुन् ।

हातपातपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटा र नगर प्रमुख ध्रुवप्रसाद खरेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए । कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबुल, सोफा समेत तोडफोड गरेका छन् ।

सुरक्षाकर्मीले घेरेपछि थप क्षति हुनबाट जोगिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले बताएका छन् । नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा सात वटाका वडाध्यक्षहरूले आपत्ति जनाए । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगर प्रमुख खरेलले देवदह–७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेका छन् । संयोजक नगर प्रमुखले तोक्न नहुने अडानसहित वडाध्यक्षहरू आक्रोशित बनेको नगर प्रवक्ता डुम्रेले जानकारी दिएका छन् ।

आक्रोशित वडाध्यक्षहरूले लगाएको प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको कार्यकक्षको ताला प्रहरीले खुलाएको छ । वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई फोनमा पटक–पटक धम्क्याउने र कार्यकक्षमै पुगेर हातपात गर्ने घटनाले कर्मचारीहरूको मनोवल गिराएको नगर प्रवक्ता डुम्रेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७