सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या ?


१५ फाल्गुन २०८०, मंगलवार
Gopal Dhakal.jpg

काठमाडौं । तेह्रथुम छथर गाउँपालिका–५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए । उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए । ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन् । ढकालकी एक जना छोरी थिइन् । ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किए । उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो । उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो । हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन् ।

त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट भएको थियो । ‘ती तीन जनामध्ये एक जना हत्याको मुख्य व्यक्ति हुन्, उनी फरार छन्,’ पाठकले भने । अनुसन्धानका सिलसिलामा वृत्त जगातीले अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । ती दुई जनामध्ये एक जना केटा र अर्की केटी हुन् ।

उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन् भन्ने बुझिन आएको छ,’ पाठकले भने । उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ । त्यसपछि ती दुई व्यक्ति छुट्टिन्छन् । ‘गोठ भएतिर ढकाल र ती मुख्य योजनाकार गएका देखिन्छन्,’ नजिकैको सिसिटिभी फुटेजलाई उद्धृत गर्दै डिएसपी पाठकले भने ।

पक्राउ परेका ती दुई जना व्यक्तिको नाम अहिले प्रहरीले खुलाएको छैन । उनीहरूले घटनामा के कस्तो सहयोगी भूमिका निभाएको हो भन्नेबारे अनुसन्धान जारी रहेको पाठकले बताए । ‘उनीहरूसँग बयान लिँदैछौं, मुख्य योजनाकारसँग उनीहरूको सम्पर्क सूत्र के कसरी स्थापित भयो र घटनाको राति सँगै रहँदा के–के कुराकानी भयो भन्नेबारे अनुसन्धान जारी छ,’ पाठकले भने ।

ती दुबैले मोबाइल फोन बोक्दैनन् । योजनाकारसँग पनि मोबाइल नभएको देखिएको पाठकले बताए । घटना आकस्मिक होइन, योजनाबद्ध हो भन्ने केही ‘क्लू’ पनि फेला परेका छन् । जस्तै : जब तीन जना छुट्टिन्छन्, त्यसपछि मुख्य योजनाकारले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए । ‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने । त्यसलगत्तै ढकालको फोन अफ भयो । यता घर परिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भयो ।

गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए । ‘ती योजनाकार एक्लैले गरे या त्यस कार्यमा त्यहाँ अन्य कोही सहयोगी पनि थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन,’ पाठकले भने । मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए । खोजीका लागि वृत्त जगातीमा निवेदन दिए ।

रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्‍यो । नुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो । ती योजनाकारको पहिचान भइसकेको छ । तर, उनले फोन नबोक्ने गरेको प्रहरीले बताएको छ । अफ गरेर ढकालको मोबाइल समेत उनैले लगेका छन् ।

‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने । ती व्यक्ति पक्राउ परेपछि घटनामा अन्य कति जनाको संलग्नता हो खुल्ने पाठकले उल्लेख गरे । ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो यकिन भइसकेको छैन । ‘बाहिर कोहीसित कुनै दुष्मनी थिएन भन्ने परिवारका सदस्यको भनाइ छ,’ पाठकले भने । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७