कयौंलाई घाइते बनाएको खाल्डो पुरियो, तर बनेन नाला


२० फाल्गुन २०८०, आईतवार
road

–सञ्जय मिश्रा
रौतहट । रौतहटको कटहरिया नगरपालिकाका अधिकांश निर्वाचित जनप्रतिनिधि बजेटको राजनीतिमा लागेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका छन् । दिनभरि नै सवारीसाधनको आवागमन जारी रहने कटहरिया बजारको मूल बाटोमा नाला निर्माण गर्न खनिएको खाडल एक महिनापछि पुरिँदा पनि नाला निर्माण हुन नसकेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका हुन् ।

कटहरिया–५ गाउँदेखि निर्माण हुँदै आएको नाला स्थानीय किराना व्यवसायी सुरेन्द्र साहको पसल अगाडिबाट बढ्न सकेको छैन । वडा अध्यक्ष सर्फलाल गुप्ताको नेतृत्वमा साहको पसलअगाडि नाला निर्माण गर्न एक महिना अगाडि पेटी ठेकेदार उपेन्द्र बैठाले खाडल खनेर तल ढलान गरी फलामे छड समेत प्रयोग गरेका थिए । तर, पछि वडा अध्यक्ष गुप्ताले उक्त स्थानमा ३६ फिट चौडाई हुनुपर्छ अहिले ३१ फिट मात्र छ भनेर निर्माण रोक्का गरेका छन् ।

व्यवसायी सुरेन्द्र साह र सामुने घर भएका शिवशंकर साहले आ–आफ्नो नम्बरी जग्गा हाल रहेको बाटोमा ८-१० फिट पर्ने दाबी गर्दै आएका छन् । सुरेन्द्र साहले जग्गा थोरै खरिद गरी नक्सा बढी बनाउन नापी कार्यालय मौलापुरमा यकिन गरेपछि मात्र नाला निर्माण गर्ने वडा अध्यक्ष गुप्ताले अडान राखेका छन् । सामुने घर भएका शिवशंकर साहले भने ५-६ फिटको हाराहारीमा आफ्नो पक्की घर भत्काई सकेको बताउँछन् । तर एक महिना बित्दा पनि वडा अध्यक्ष गुप्ताले सुरेन्द्र साहको जग्गा बारे बास्तविक यकिन गर्न सकेनन् ।

उता थोक तथा खुद्रा किराना ब्यवसायी सुरेन्द्र साहको पसलमा दर्जनौं सवारी साधन तथा सयौं ग्राहक दैनिक आवत जावत गर्ने गर्दछन् । पसलअगाडि खनिएको खाडलमा खसेर कयौंलाई चोटपटक समेत लागेको उनले पटक–पटक गुनासो गर्दै आएको भए पनि समयमा नाला निर्माण हुन सकेन । यसरी महिनौंसम्म पसलअगाडि खनिएको खाडलमा दुर्घटना हुन थालेपछि केहीदिन अगाडि बाध्य भएर सुरेन्द्र साहले नाला निर्माण नहुँदै खाडलमा माटो पुरेका छन् । पेटी ठेकदार बैठाले पनि बाध्य भएर फलामे छडहरु काटेर लागेका छन् ।

किराना व्यासायी साहले पसलअगाडि महिनौंसम्म रहेको खाडलको कारण ग्राहक नआएर लाखौँ रुपैयाँ क्षति भएको बताउँछन् । त्यसैगरी पेटी ठेकेदार उपेन्द्र बैठाले पनि खाडल खनेर ढलान भएको र फलामे छड समेत प्रयोग भएर नाला निर्माण नहुँदा आफूलाई पनि लाखौंको क्षति भएको गुनासो गरिरहेका छन् ।

कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सुरेन्द्र साहको जग्गाबारे बास्तविक यकीन गर्न नापी कार्यालय मौलापुरले ढिलो गरेको कारण समस्या भएको दोह्रयाएका छन् । कटहरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बजेट केन्द्रित भएको कारण जनसरोकारको कामहरूमा ढिलाई भएको स्थानीय जानकारहरुले गुनासो गरेका छन् । आश्रय निर्माण सेवाले कटहरिया ४ र ५ मा खानेपानीसँगै ढल तथा नाला निर्माणको ठेक्का लिएको छ । करोडौंको ठेक्काको काम आश्रयले आफैले नगरी साना साना पेटी ठेकदारमार्फत गरिएको कारण पनि भौतिक पूर्वाधार निर्माण समयमा नहुने तथा गुणस्तरमाथि प्रश्न चिह्न उठिरहेको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७