युक्रेन आक्रमणको आलोचना गर्ने पत्रकारलाई सात वर्ष जेल


२४ फाल्गुन २०८०, बिहीबार
jail 4oEUUNeOBL

कोरोलोभ । रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ । ५१ वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मसकोको कडा सैन्य सेन्सरसिप कानुनअन्तर्गत दण्डित गरियो । मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानुनहरूको प्रयोग गरेको छ ।

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भने, ‘शान्ति र स्वतन्त्रता ।’ उनका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, ‘हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।’ सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गरेका थिए । उनीलाई गत वर्ष पक्राउ गरिएको थियो र उनले आफू निर्दोष रहेको बताएका थिए ।

‘रुसमा पत्रकारिता अब अवस्थित छैन’, पछिल्लो सुनुवाइमा अदालतलाई दिएको अन्तिम बयानमा उनले भने, ‘हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।’ इभानोभ एउटा स्थानीय सरकारी टिभी च्यानलमा काम गर्थेे तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उहाँलाई बर्खास्त गरिएको थियो ।

बुधबारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उनको रिपोर्टिङको प्रतिशोधका रूपमा उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताए । ‘उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो’, अल्ला इभानोभाले भने, ‘म लडाई जारी राख्नेछु ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७