मह जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त


२५ फाल्गुन २०८०, शुक्रबार
maha

काठमाडौँ । नेपाल टेलिकमले हाँस्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाएका महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ट पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरूको संलग्नताबाट कम्पनीका ग्राहक वर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रूपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरूको प्रवर्द्धन गरी सशक्त रूपमा जनतासमक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यसअघि नै ब्राण्ड प्रमोटर नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७