सिरहामा होटल सञ्चालक महिलाको विभत्स हत्या : श्रीमानसहित चार जना नियन्त्रणमा


२६ फाल्गुन २०८०, शनिबार
siraha hatya

सिरहा । सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी साहको गर्दन काटिएको तथा टाउको क्षत विक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गए राति मृतक र निजका पति महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि सहयोगका लागि घटनास्थलमा पुगेको प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीर घाउचोटसहित बेहोस फेला पारेको थियो ।

निजलाई तत्काल उपचारका लागि गोलबजार पुर्‍याइएको थियो । घटनामा संलग्न भएको आशङ्कामा श्रीमानसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सन्तोष अचार्यले बताए । घटना भएको घर नजिकको गोठबाट एक थान खुकुरी बरामद भएको छ । हत्याको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिराहाबाट गएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य अहिले पनि घटनास्थलमै छन् ।

अनिताको शव पोष्टमार्टमको लागि केही बेरअघि लहान अस्पताल लगिएको छ । मृतक महिलाका पति महेन्द्रको भने लाइभ लङ हेल्थकेयर गोलबजारमा निगरानीमै उपचार भइरहेको द्विवेदीले बताए । जाँतो र लोहोरोले टाउको र अनुहारमा प्रहार गरेर उनको हत्या भएको हो । अनिताको शव होटल रहेको घरको खाट नजिकै भूइँमा विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

धनुषाको लालगडबाट लगिएको तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । राति आँत्तिदै महेन्द्र घरबाहिर आएपछि स्थानीयले घटनाको विषयमा थाहा पाएका थिए । आत्तिएर वेहोस भएको अवस्थामा प्रहरीले महेन्द्रलाई अस्पताल पुर्‍याएको हो । महेन्द्र यसअघि पनि आपराधिक घटनामा जेल परेर छुटेका व्यक्ति भएको स्थानीयले बताएका छन् । महेन्द्रलाई पनि निगरानीमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ । उनीहरुका एक छोरी र दुई जना स–साना छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७