भत्ताको पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या, मलखाडीमा गाडिएको अवस्थामा भेटियो शव


१ चैत्र २०८०, बिहीबार
death
सांकेतिक तस्वीर

झापा । झापाका एक युवकले आफ्नै वृद्धा हजुरआमाको हत्या गरेका छन् । आफ्नी हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हात पार्न झापाको गौरादह नगरपालिका–७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ ।

हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो । हत्यापछि घर पछाडि ग्वाली नजिकको मलखाडीमा पुरिएको अवस्थामा विश्वकर्माको शव पाँच दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । वृद्धा नरमाया शिवरात्रिको दिन राति अर्थात् फागुन २५ गतेदेखि सम्पर्कविहीन भएकी थिइन् । उनको शव बुधवार फेला परेको हो ।

हराएको पाँच दिनपछि मात्र छोरा रमेश विकले बुधवार बिहान इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएका थिए । उजुरी आउनसाथ प्रहरीले खोजीलाई तीव्र बनाएको र केही घण्टामा नै घटनामा संलग्नको पहिचान गरेर अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीका अनुसार हत्याको अभियोगमा बुधवार साँझ मृतकको १७ वर्षीय नाती धिरज विश्वकर्मा र उसका साथीहरू टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका छन् । शिवरात्रिको दिन लागु औषध सेवन गरेर हजुर आमासँग पैसा मागेपछि दिन नमान्दा विवाद हुँदा रडले टाउकोमा हानेर वृद्ध हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको केसीले जनाए । ‘घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं’, केसीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७