प्रेम प्रस्ताव इन्कार गर्दा गयो सुष्माको ज्यान, आठ दिन बाटो ढुकेर गरे रुपेन्द्रले हत्या


४ चैत्र २०८०, आईतवार
suahma lama

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरमाथि शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुष्माको हत्यामा संलग्न भएको आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो ।

शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फागुन २५ गते सुष्माको शव खाल्डोबाट निकालेको थियो । मृतक एक महिनादेखि हराइरहेकी गोकर्णेश्वर नगरपालिका–३ की सुष्मा लामा रहेको खुलेको थियो । उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरी समक्ष दिएका छन् । १८ वर्षकी सुष्मालाई रुपेन्द्रले मन पराउने र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेपछि हत्या गरेको खुलासा भएको छ । रुपेन्द्रले सुष्मालाई ८ महिना पहिलेदेखि मन पराउने गरेको र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेको खुलेको छ ।

उनीहरु २ वर्ष पहिलेदेखि घाँस काट्न, बाख्रा चराउन सँगै जाने आउने गरेको रुपेन्द्रले बताएको प्रहरीले जानकारी दियो । तर फोन तथा सामाजिक सञ्जालमा भने कुराकानी भएको देखिएको छैन । एकतर्फी माया गरेका रुपेन्द्रले पटक–पटक प्रेम प्रस्ताव गर्दा पनि सुष्माले अस्वीकार गरेपछि हत्या गरेको प्रहरी समक्ष बताएका छन् । हत्या गर्नुभन्दा ८ दिन पहिलेदेखि उनले बाटोमा ढुकेर बसेको र खाल्डो खन्नका लागि ४ दिनदेखि कोदालो पनि लगेको खुलेको छ ।

माघ २४ गते घटनाको दिन सुष्मा कलेज जाँदै गर्दा बाटो छेकेर रुपेन्द्रले प्रेम प्रस्ताव गरेका थिए । तर सुष्माले इन्कार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाएर पुर्न पहिलै यकिन गरेका स्थानमा लगेर टाइ र जुत्ताको तुनाले कसेर हत्या गरेका थिए । हात पनि पेटीले बाँधेका थिए । हत्यापछि उनले कुटोले खाल्डो खनेर पुरेका थिए । त्यसपछि मृतकको मोबाइल र पुस्तक भने उनले लिएर गएका थिए ।

सुष्मा बुढानिलकण्ठ माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । २४ गते सुष्मा कलेज गएपनि घर फर्किएकी थिइनन् । त्यसको भोलिपल्ट उनले प्रयोग गर्ने फेसबुक सुष्मा मंगोलियनमा आफूले विवाह गरेको भनि पोष्ट भएको थियो । २०८० माघ २३ गते गुगलबाट अर्कै बेहुला बेहुलीको फोटो डाउनलोड गरेर सम्पादन गरी सुष्माको फेसबुकमा सरी सबैलाई म ३ दिनपछि आउछु लेखेर पोष्ट गरेपछि फेसबुक डिएक्टिभ गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७