सत्ता समीकरण फेरिएसँगै ठूलो संख्यामा सचिवको सरुवा गर्ने तयारीमा सरकार


८ चैत्र २०८०, बिहीबार
pm office 1

काठमाडौं । सत्ता समीकरण फेरिएसँगै सरकार सचिवहरुको सरुवाको तयारीमा लागेको छ । नयाँ गठबन्धन बनेको एक साताकै अवधिमा सरकारले सचिवहरुको ‘व्यापक’ सरुवाको तयारी अगाडि बढाएको हो । आज (बिहीबार) नै मन्त्रिपरिषद वैठकले सचिव सरुवाको निर्णय गर्ने बताइएको थियो । तर, आजको मन्त्रिपरिषद वैठकले सचिव सरुवाको निर्णय नगरे पनि सचिव सरुवा गर्नेमा सरकारले ढिलाइ नगर्ने स्रोत बताउँछ ।

गठबन्धन फेरिएको एक हप्तामै सरकारले गृह मन्त्रालयका सचिवमा एकनारायण अर्याललाई लगेर सचिव सरुवाको खाता खोलिसकेको छ । अर्याल गृह प्रवेश गरेसँगै सो मन्त्रालय ताकेका एमाले निकट सचिवहरुले अन्य ठूला मन्त्रालयमा चासो देखएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर अमेरिका भ्रमणमा गएपछि असन्तुष्ट बनेका अर्थमन्त्री बर्षमान पुनले अर्थमा राजस्व सचिव डा. रामप्रसाद घिमिरेलाई नै जिम्मा दिने तयारी गरेका छन् ।

घिमिरेले अहिले पुष्कर अमेरिका गएपछि पूरै मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । अर्थतन्त्र संकटमा परिरहेको बिषम परिस्थितिमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका पुनलाई मन्त्रालय र मातहतको ब्रिफिङ नसकी पुस्कर अमेरिका पुगेका हुन् । सो पदमा घिमिरेका साथै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तोयम रायाले पनि एमाले नेतृत्वसँग नजिकिएर बाटो बनाइरहेका छन् ।

त्यस्तै, अर्थ सचिवकै लागि प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलले ‘लबिङ’ थालेका छन् । पुष्करले बिस्थापन गरेका पोखरेल उनलाई नै हटाएर प्रतिस्थापन भई विगतको सरुवा गलत थियो भन्ने साबित गर्ने दाउमा देखिएका छन् । सके अर्थ, नभए पनि उद्योग सचिवमा पोखरेलको नजर छ । उद्योग सचिव मुकुन्द निरौलालाई मन्त्री दामोदर भण्डारीले उपयुक्त स्थान खोजेर विकल्प दिनका लागि संकेत गरिसकेको स्रोतले जानकारी दिएको छ ।

मन्त्री भण्डारीले बाणिज्य सचिव नारायणप्रसाद दवाडीको समेत विकल्प खोजिरहेका छन् । निरौला रिक्त निर्वाचन आयोगमा सचिवमा सरुवा हुने चर्चा छ । भरतमणि सुवेदी पनि उद्योगमै जान चाहिरहेका छन् । सुवेदीले उद्योग पाए भने निरौलाले सार्वजनिक खरिदमै चित्त बुझाउनुपर्ने हुनेछ । सञ्चार मन्त्रालयबाट बाहिरिएका कृष्णबहादुर राउत बित्त आयोगबाट मन्त्रालयमा आउन खोजिरहेका छन् । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले बर्षाैदेखि मन्त्रालय छाडेर आयोग तथा कार्यालयतिर पु¥याउने तयारी छ ।

उद्योग नपाए सुवेदीले रक्षा ताकेका छन् । पर्यटनका डा. दीपक काफ्लेलाई माओवादी मन्त्री सुदन किराँतीले ल्याएका हुन् । तर किराँतीले ल्याएका उनलाई हितबहादुर तामाङले निरन्तरता दिन नचाहेका कारण प्रधानमन्त्री कार्यालयमै थन्किनु पर्ने अवस्था देखिएको छ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय यही मौकामा संघीय मामिला मन्त्रालय छिर्ने दाउमा छन् । तर संघीय मामिलाका बिनोदप्रकाश सिंहले भेगीय नाता लाएर टिक्न खोजिरहेका कारण संघीय नभए बाणिज्य सचिवमा भने पनि आउन जोडबल कसिरहेका छन् ।

मुख्यसचिव बैकुण्ठ अर्यालका प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिरहेका र अर्याल अवधि नपुग्दै बाहिरिएको अवस्थामा यसअघि मुख्य सचिव नै ताकेका उदयराज सापकोटा तेस्रो पटक प्रधानमन्त्री कार्यालयमा जानुपर्ने देखिएको छ । कानुन सचिवका लागि लीला गड्तौला, तोयानाथ अधिकारी, फणिन्द्र गौतमको चाहना रहेको छ । गड्तौलाको पालो मिचेर सापकोटा दोस्रो पटक कानुन मन्त्रालयमा आएका हुन् ।

खानेपानी सचिव सुरेश आचार्यका लागि बिज्ञान प्रविधि र प्रधानमन्त्री कार्यालयमा कुन ठाउँमा पठाउने भन्नेबारेमा मन्त्री राजेन्द्र राईले छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ । उनी आफू बिराटनगरको भएको र मन्त्री धनकुटाका भएका कारण पूर्वको साइनो जोड्दै टिक्न एमालेका मझौला नेताहरुसँग नजिकिइरहेका छन् । तर सचिव सरुवामा एमाले मन्त्रीहरुको पार्टी नेतृत्वको छनोट लागू हुने भएका कारण आचार्यको टिक्ने प्रयत्न सफल हुने सम्भावना कम देखिएको छ ।

सचिव बढुवा भएको छैटौं पटकमा खानेपानीमा दोस्रो पटक पुगेका आचार्यका लागि सरुवा नौलो बिषय मानिन्न । खानेपानीमा जानका लागि नेपाल ट्रष्टका सचिव विश्वबाबु पुडासैनी चर्चामा छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासँग सडक विभागको महानिर्देशक भएको समयमा मनमुटाव भएकाले मन्त्री रघुवीर महासेठले पनि अर्को सचिव ल्याउने तयारीमा रहेको बताइन्छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण महासेठले उनलाई सरुवा गर्नसक्ने सम्भावना भने कम रहेको भौतिक मन्त्रालय स्रोतको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७